loader

Breaking News

टेण्डोङ ल्हो रूमफातमा मुख्यमन्त्रीको आह्वान: "प्रकृति संरक्षण लेप्चा समुदायबाट सिकौं"

Image
 

सिक्किमको राज्य स्तरीय टेण्डोङ ल्हो रूमफात समारोहमा बोल्दै मुख्यमन्त्री पीएस गोलेले सबैलाई पर्वको शुभकामना दिएका छन्। उनले यो पर्व केवल लेप्चा समुदायको मात्र नभई सम्पूर्ण सिक्किमको साझा पर्व भएको बताए। टेण्डोङ ल्हो रूमफात प्रकृतिसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसबाट सिक्किमेली समाजले प्रकृति संरक्षणबारे धेरै प्रेरणा लिन सक्ने उनको धारणा थियो।
मुख्यमन्त्रीले लेप्चा समुदायको प्रकृति पूजा र संरक्षणको परम्परा प्रशंसा गर्दै विश्वले अहिले मात्रै प्रकृतिको महत्व बुझ्न थालेको तर लेप्चा जातिले सृष्टिकाल देखि नै यसको संरक्षणको सन्देश दिँदै आएको स्मरण गरे। वन, जंगल, खोला–नाला र प्राकृतिक स्रोतको संरक्षणले मात्र मानव जीवन सुरक्षित हुने भन्दै उनले यस क्षेत्रमा सरकारको प्रतिबद्धता स्पष्ट पारे।
सरकारले अघि बढाएका विभिन्न पर्यावरणमुखी योजनाबारे जानकारी दिँदै मुख्यमन्त्रीले ‘मेरो रूख मेरो सन्तति’, ‘शिशु समृद्धि योजना’ र ‘मेरो बाटो मेरो बोट’ अभियानको चर्चा गरे। उनका अनुसार नवजात शिशुको जन्मपछि 108 वटा बिरुवा रोप्ने प्रथा वातावरण संरक्षण तर्फको महत्वपूर्ण कदम हो, जसले देश–विदेशमा प्रशंसा पाएको छ। उनले सिक्किममा वन क्षेत्रफल 2.19 प्रतिशतले बढेको तथ्य पनि प्रस्तुत गरे।
कार्यक्रममा उनले लेप्चा समुदायको शैक्षिक र राजनीतिक उपलब्धि उल्लेख गरे। हाल दुई मन्त्री, तीन विधायक र एक राज्यसभा सांसद सहित, अध्यक्ष, सल्लाहकार, अतिरिक्त राजनीतिक सचिव र जिल्ला पंचायतमा समेत उल्लेख्य प्रतिनिधित्व रहेको बताए।
मुख्यमन्त्रीले समुदायका लागि भइरहेको विकासीय कार्यहरूको विवरण पनि प्रस्तुत गरे— जसमा लेप्चा भवन, ‘स्वर्ग जाने सिँढी’ निर्माण, उत्तर सिक्किमको  जङ्गु लिङताममा मुनसुलुङको मूर्ति स्थापना, मोडल स्कूल निर्माण, अध्ययन भ्रमण कार्यक्रम, नर बहादुर भण्डारी तथा 'अपतन' फेलोसिप योजना र मुख्यमन्त्री शिक्षा सहायता योजना मार्फत 489 विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको जानकारी सामेल थियो।
भाषा संरक्षणका लागि उनले माङशिला र बुर्तुक डिग्री कलेजमा लेप्चा भाषाका सह–प्राध्यापक नियुक्त गर्ने घोषणा गरे। साथै, हरेक वर्ष 21 जातीय संघ–संस्थालाई पाँच–पाँच लाख रुपियाँ अनुदान उपलब्ध गराइने घोषणा पनि गरे।


Leave a Comment